बारा, १९ असार । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ।
महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार जिल्ला अदालत महोत्तरीमा पेस गरेलगत्तै अदालतको आदेशानुसार कारागार चलान गरिएको हो।
महोत्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी पञ्चलाल गोलेले अदालतको आदेश कार्यान्वयनका लागि कोइरीलाई कारागार पठाइएको जानकारी दिनुभयो। उच्च अदालत जनकपुरले बुधबार मात्रै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको भए पनि उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरेको हो।
दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ सालमा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्या भएको घटनामा कोइरीलाई मतियारको रूपमा संलग्न रहेको ठहर गर्दै अदालतले यो सजाय सुनाएको हो।



