बारा, २० असार । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि प्रहरीले निगरानी बढाएसँगै एकै दिनमा २० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न २ हजार जना सवारी चालकहरू कारबाहीमा परेका छन्, जसबाट राज्यकोषमा कुल २० लाख ४ हजार १४ रुपैयाँ राजस्व दाखिला भएको छ।
कारबाहीमा परेकाहरूमध्ये सबैभन्दा धेरै अन्य विभिन्न ट्राफिक नियम पालना नगर्ने १ हजार २५६ जना रहेका छन्। त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, तीव्र गतिमा सवारीसाधन चलाउने ११३ जना, र ‘लेन’ अनुशासन पालना नगर्ने १०७ जना चालकहरू कारबाहीको दायरामा आएका छन्।
यसका साथै एकतर्फी सडकमा सवारी चलाउने ९६ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ जना, मादकपदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्ने ६१ जना र ट्राफिक लाइट उल्लङ्घन गर्ने ६१ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।



