बारा, २१ असार । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजना हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो। आगामी जुलाई २१ देखि सुरु हुने उक्त शृङ्खलामा नेपाल, नामिबिया र आयोजक नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। नेदरल्यान्ड्स प्रस्थान गर्नुअघि नेपाली टोली त्यहाँको कन्डिसन सँग अभ्यस्त हुनका लागि जर्सी प्रस्थान गर्नेछ। टोलीले विशेष अभ्यास क्याम्पसँगै दुईवटा अभ्यास एकदिवसीय खेल खेल्ने तालिका रहेको छ।
क्यानका अनुसार नेपालले जर्सीमा जुलाई १३ मा पहिलो र जुलाई १५ मा दोस्रो अभ्यास खेल खेल्नेछ। यो तयारीले युरोपेली पिच र मौसममा भिज्न नेपाली खेलाडीहरूलाई ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ। बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीले गत वर्ष स्कटल्यान्डमा गरेको जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने र आफ्नो वर्तमान लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई धेरै दबाब नलिई स्वाभाविक खेल खेल्न सुझाव दिँदै टोलीलाई शुभकामना दिए। उनले हालै सम्पन्न दुई घरेलु शृङ्खलाका कारण व्यवस्थापन र टोली उत्साहित रहेको समेत बताए।
नेपाली टोली हाल बलियो लयमा देखिएको छ। केही साताअघि मात्र घरेलु मैदानमा खेलिएका आठ खेलमध्ये छ खेलमा सानदार जित निकाल्दै नेपालले लिग–२ को अङ्कतालिकामा आफ्नो स्थानमा उल्लेख्य सुधार गरिसकेको छ। यही उच्च मनोबलका साथ नेपाली टोली जर्सी हुँदै नेदरल्यान्ड्सतर्फ लाग्न लागेको हो, जहाँ टोलीले आफ्नो सुखद यात्रालाई निरन्तरता दिने लक्ष्य राखेको छ।



