Tuesday, July 7, 2026

पर्याप्त वर्षा नहुँदा बारामा धान खेती प्रभावित, १३ प्रतिशत मात्रै रोपाइँ

बारा, २३ असार । यस वर्ष समयमै पर्याप्त मनसुनी वर्षा हुन नसक्दा बारा जिल्लामा धान रोपाइँको गति निकै सुस्त देखिएको छ।

असारको तेस्रो साता बितिसक्दा समेत आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण जिल्लाका अधिकांश क्षेत्रका खेतहरू अझै बाँझै छन्। कृषि ज्ञान केन्द्र बाराको पछिल्लो तथ्यांक अनुसार असार २२ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये मात्र ५ हजार ८६३ हेक्टरमा रोपाइँ सकिएको छ, जुन कुल क्षेत्रफलको करिब १३ प्रतिशत मात्रै हो।

जिल्लामा यस वर्ष करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। विगतका वर्षहरूको तुलनामा यस पटक किसानहरूले मौसमको ठूलो प्रतिकूलता सामना गर्नुपरिरहेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश महराका अनुसार गत वर्ष यही अवधिसम्म करिब १९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको थियो।

गत वर्षको तुलनामा यस वर्ष रोपाइँको दर ६ प्रतिशतले खस्किएको छ । जसको मुख्य कारण ढिलो गरी सुरु भएको मनसुन र न्यून वर्षा नै हो। पानीको अभावले गर्दा ब्याड राख्ने, खेत जोत्ने र रोप्ने कार्यमा किसानहरूले सास्ती खेप्नुपरेको छ। यद्यपि, केही पालिकाहरूमा उपलब्ध सिँचाइका स्रोत साधन प्रयोग गरेर रोपाइँ जारी राखिएको र आगामी दिनमा मनसुन सक्रिय भएमा यसले तीव्रता पाउने आशा गरिएको छ।

यसअघिको आर्थिक वर्षमा भने बारामा धान उत्पादनको अवस्था निकै उत्साहजनक रहेको थियो।

गत वर्ष ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा ९८ प्रतिशत अर्थात् ४५ हजार ९९ हेक्टरमा सफलतापूर्वक रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर