बारा, २४ असार। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीचोकस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा बुधबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ५ः३० बजे वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकछेउको रेलिङमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–४ निवासी धनबहादुर श्रेष्ठका करिब ४० वर्षीय छोरा ईश्वर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई प्रादेशिक अस्पताल, कलैयामा लगिएको थियो। थप उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पुर्याइए पनि चिकित्सकले बिहान ७ः३० बजे ईसीजी परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। मृतकको शव नारायणी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



