बारा, २५ असार । प्रधानमन्त्री वालेन्द्र शाहले देशको निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, त्यसको समाधानका उपाय, निर्माण कार्यका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीहरूसँग संवाद गर्दै छन् ।
सरकार गठनको १०० दिन पूरा गरेपछि निजी क्षेत्रसँगको संवादलाई तीव्रता दिएका प्रधानमन्त्री शाहले आज पूर्वाधार विकासको मुख्य खम्बा मानिने निर्माण क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो साढे ११ बजे तय भएको उक्त उच्चस्तरीय बैठकमा निर्माण उद्योगको शिथिलता हटाउने र रोकिएका आयोजनाहरूलाई गति दिने विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका तर्फबाट अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे तथा बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा सहभागी हुने छन् । यसैगरी, महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने पनि बैठकमा उपस्थित हुने कार्यक्रम रहेको छ ।



