काठमाडौं, २७ असार। नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अवस्था बुझ्न तथा सरकारसँग जवाफ माग्न पुगेका युवामाथि गरिएको पक्राउप्रति कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत फरक मत र आलोचनालाई दमन गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्।
थापाले माजिद अन्सारी, नरेन्द्र खड्का र सरिश्मा थापालगायतलाई निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिइएको घटनालाई अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको उल्लेख गरेका छन्। उनले यस्ता कार्यले लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने बताएका छन्।
उनले लोकतन्त्रमा नागरिकले प्रश्न सोध्नु र सरकारसँग जवाफ माग्नु स्वाभाविक अधिकार भएको उल्लेख गर्दै त्यसको उत्तर गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने स्पष्ट पारे। सरकार बलियो तब मात्र हुने उनको भनाइ छ, जब उसले फरक मत र आलोचनालाई सहने क्षमता राख्छ तथा संवाद र उत्तरदायित्वमार्फत समस्याको समाधान खोज्छ।
सभापति थापाले फरक मत र जनताका प्रश्नलाई दबाउने प्रयास सत्ताको चरम कमजोरीको संकेत भएको टिप्पणी गर्दै पक्राउ परेका सबै युवालाई अविलम्ब बिना शर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।



