कलैया, २९ असार। राहदानी विभागद्वारा सुरु गरिएको नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा प्राविधिक समस्या देखिँदा सेवा प्रवाह प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, कलैया बाराले सार्वजनिक सूचना जारी गर्दै असार २९ गतेदेखि सुरु गरिएको नयाँ प्रणालीमा आएको समस्याका कारण राहदानीसम्बन्धी सेवामा अवरोध आएको जनाएको छ।
कार्यालयले लाइभ इन्रोलमेन्ट, बायोमेट्रिक संकलन तथा डाटा प्रोसेसिङ प्रक्रिया सम्बन्धी कार्यहरु अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ। यस्तै प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको र प्रणालीलाई पूर्ण रूपमा सुधार गरी सेवा सहज बनाउने प्रयास जारी रहेको जनाइएको छ।
समस्या समाधान नहुँदासम्म सेवामा ढिलाइ हुन सक्ने भएकाले कार्यालयले सेवाग्राहीहरूसँग धैर्य र सहयोगको अपिल गरेको छ। साथै, प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि थप जानकारी आधिकारिक वेबसाइट तथा सूचनामार्फत उपलब्ध गराइने बताइएको छ।




