पर्सा, २९ असार। पर्सा जिल्लामा यस वर्ष अहिलेसम्म करिब ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत उमेश थापाका अनुसार जिल्लामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म २७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। अझै २२ हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको उनले जानकारी दिए।
थापाका अनुसार यस वर्ष मनसुन ढिलो गरी भित्रिनुका साथै समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको हो। त्यसका कारण गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रगति केही सुस्त देखिएको उनले बताए।
यद्यपि, पछिल्ला केही दिनदेखि निरन्तर वर्षा हुन थालेपछि जिल्लाभर धान रोपाइँले गति लिएको छ। अबको केही दिन मौसम यस्तै अनुकूल रहेमा बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ।



