हेटौंडा, २९ असार। अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मकवानपुर जिल्लाका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रु तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै समय तोकेर सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ।
प्रशासनद्वारा जारी सूचनाअनुसार हेटौंडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्ड अन्तर्गत चौघडा क्षेत्रबाट आज साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन बन्द गरिएको छ।
त्यस्तै, हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं जाने सडकखण्डमा पर्ने चौकीटोल, हेटौंडा क्षेत्रमा पनि आज साँझ ५ बजेदेखि भोलि ३० गते बिहान ५ बजेसम्म सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।
प्रशासनले सडकको अवस्था जोखिमपूर्ण रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न, वैकल्पिक मार्ग प्रयोग गर्न र आधिकारिक सूचनाको निरन्तर पालना गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित निकाय, यातायात व्यवसायी तथा चालकहरूलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ।
हाल जिल्लामा निरन्तर वर्षा भइरहेकाले थप पहिरो र सडक अवरोधको सम्भावना उच्च रहेको प्रशासनले जनाएको छ।



