बारा, ३० असार । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार यस अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले बढेर रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ।
राष्ट्र बैंकका अनुसार गत जेठ महिनामा मात्रै रु २ खर्ब ३ अर्ब ८९ करोड रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा (रु १ खर्ब ७६ अर्ब ३२ करोड) बढी हो। यसैगरी समीक्षा अवधिमा खुद द्वितीय आय समेत वृद्धि भई रु २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १६ खर्ब ६९ अर्ब ५१ करोड मात्र सीमित थियो।
अर्कोतर्फ, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्यामा पनि ठूलो वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ पुगेको छ।
त्यस्तै, सोही अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ। नयाँ र पुनः श्रम स्वीकृति लिने दुवै क्षेत्रको कुल सङ्ख्या जोड्दा यस अवधिमा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।



