बारा, ०२ साउन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार एक विशेष अपरेसन सञ्चालन गर्दै भारी परिमाणमा लागुऔषध गाँजा बरामद गर्नुका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ।
कौडेना गाउँपालिका वडा नं. ०१ सुकचैना क्षेत्रमा लागुऔषधको अवैध बेचबिखन तथा भण्डारण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमको कमाण्डमा १२५ जनाको ठूलो प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले स्थानीय विभिन्न घर तथा स्थानहरूमा सघन चेकजाँच गर्ने क्रममा घर र बारीमा लुकाई-छिपाई राखिएको अवस्थामा २१ वटा बोरामा प्याक गरिएको कुल ४ सय १९ किलो ९३ ग्राम लागुऔषध गाँजा फेला पारी बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट नापतौलका लागि प्रयोग गरिने ४ थान डिजिटल मेसिन र १ थान सानो तराजु समेत बरामद गरेको छ।
अवैध गाँजा ओसारपसार र भण्डारणमा संलग्न रहेको आरोपमा प्रहरीले सुकचैनाका दुई स्थानीय बासिन्दालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने बच्चेलाल राउतका २५ वर्षीय छोरा राहुल राउत र बासुदेव राउतका ४६ वर्षीय छोरा महादेव राउत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी गौतमका अनुसार बरामद गरिएका सामग्रीहरू सुरक्षित राखिएको र पक्राउ परेका दुवै आरोपीहरूलाई हिरासतमा लिएर थप कानुनी कारबाही तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।



