बारा, ०३ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको जलबिरेमा आज बिहान दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गुडिरहेको ट्रकलाई ओभरटेक (उछिन्ने) गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको अर्को बससँग ठोक्किएर सो दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था निकै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरूमध्ये २१ जनाको चितवन मेडिकल कलेज र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका कारण केही समय सडक अवरुद्ध भई सवारीसाधनहरू रोकिए पनि प्रहरीले अवरोध हटाएसँगै यातायात पुनः सञ्चालनमा आई गाडीहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।



