बारा, ०३ साउन । विगतका वर्षहरूको तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा केही कमी आएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १ सय ८७ जना नेपालीले श्रम स्वीकृति लिएर विदेशिएका छन्।
जसमा पुरुषको संख्या ६ लाख ९७ हजार ९६ जना र महिलाको संख्या ९५ हजार ९१ जना रहेको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४७ हजार ७९ ले न्यून हो, जतिबेला ८ लाख ३९ हजार २ सय ६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।
विभागको विवरणअनुसार विशेष गरी म्यानपावर माध्यमबाट वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा उल्लेखनीय गिरावट आएको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा म्यानपावर कम्पनीहरूले ३ लाख ५९ हजार ६ सय ७५ जनालाई विदेश पठाएकोमा गत आर्थिक वर्षमा यो संख्या ९० हजार ६ सय ८५ ले घटेर २ लाख ६८ हजार ९ सय ९० मा खुम्चिएको छ। अर्कोतर्फ, गत वर्ष १ लाख २८ हजार ५ सय २० जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् भने जी-टु-जी संयन्त्रमार्फत ८ हजार १ सय ७ जना वैदेशिक रोजगारीमा गएका छन्।
नेपाली श्रमिकहरूको रोजगारीका लागि प्रमुख गन्तव्य मुलुकहरूको हकमा संयुक्त अरब इमिरेट्स (यूएई) सबैभन्दा अगाडि देखिएको छ। पुनः श्रम स्वीकृतिसहित यूएईमा १ लाख ८३ हजार ५ सय ८० जना नेपाली पुगेका छन्। यसैगरी मलेसियामा १ लाख २८ हजार ७ सय ५३, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ र कतारमा १ लाख २१ हजार २ सय ३० जना नेपाली रोजगारीका लागि गएका छन्।
यी खाडी र मलेसियाबाहेक अन्य मुलुकहरूमा कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना नेपालीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक यात्रा तय गरेका छन्।



