बारा, ०६ साउन । दाइजो प्रथा अन्त्यका लागि देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच मन्त्रालयमा विस्तृत छलफल भएको छ।
छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान पहिलो चरणमा मधेश प्रदेशबाट प्रारम्भ गरी क्रमशः देशभर विस्तार गर्ने सहमति भएको छ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा र महिला समूहको सक्रिय सहभागितामा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
दुवै पक्षले दाइजो प्रथालाई महिला हिंसा, लैङ्गिक विभेद र सामाजिक अन्यायको मुख्य कारणका रूपमा औँल्याउँदै कडा कानुनी कार्यान्वयनका साथै व्यापक सामाजिक चेतना फैलाउनुपर्नेमा जोड दिएका छन्।
मन्त्री बादीले कानुनको कार्यान्वयनसँगै व्यवहारगत परिवर्तन आवश्यक रहेको बताउनुभयो भने उपसभामुख रुबी कुमारीले तीनै तहका सरकार र सरोकारवालाबीचको सहकार्यले मात्र दाइजोमुक्त नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।



