बारा, १० साउन। बाराको करैयामाई गाउँपालिका–८ स्थित नरही चौकदेखि इटहरतर्फ जाने सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
हिजो राति करिब ११ बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्रुहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट अन्दाजी २५ वर्षका उमेश साह सोनार र पवन साह सोनार घाइते भएका थिए।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुर, बाराबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि वीरगंज पठाएको थियो।
उपचारकै क्रममा आज बिहान करिब १:२० बजे उमेश साह सोनारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल वीरगंजस्थित न्युरो अस्पतालमा राखिएको छ।
घाइते पवन साह सोनार (अन्दाजी ४० वर्ष), बिश्रामपुर गाउँपालिका–५, इटियाही निवासी, को टाउकोमा गम्भीर चोट लागेको छ र उनी सोही अस्पतालको आईसीयूमा उपचाररत रहेका छन्।
ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेका छन् भने उनीहरूको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।



