बारा,१० साउन । शिक्षा तथा स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी संग वार्ता गर्न सरकारले वार्ता टोली खटाएको छ।
शिक्षा र स्वास्थ्य सचिवसहित प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार सम्मिलित चार सदस्यीय उच्चस्तरीय टोली वार्ताका लागि धनगढी पुगेको छ।
धनगढी पुगेको सरकारी टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणी पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र सांसद पुकार बम छन्। शिक्षामन्त्रीको सचिवालयका अनुसार अबको केही समयभित्रै डा. केसीसँग औपचारिक वार्ता सुरु गर्ने तयारी भइरहेको छ।
शिक्षामन्त्री सस्मित पोखरेल स्वयम्ले पनि डा. केसीसँग निरन्तर टेलिफोन संवाद गरिरहेको र सरकार वार्तामार्फत नै माग सम्बोधन गरी सहमतिपूर्ण निकास निकाल्न गम्भीर भएर लागेको मन्त्रीको सचिवालयले जनाएको छ।
गत बिहीबारदेखि अनशनरत डा. केसीको स्वास्थ्यमा जटिलता देखिएपछि शनिबार दिउँसो उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।



