बारा, ११ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन आचारसंहिता र कडा निर्देशन जारी गरेको छ।
गत साउन ८ गते एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै संकायले परीक्षा सञ्चालन सम्बन्धी नियममा कडाइ गरेको हो।
डीनको कार्यालयले जारी गरेको सूचनामा प्रत्येक परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी आधिकारिक प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ भने केन्द्रले तोकेको रोल नम्बर अनुसारको सिटमा मात्र बस्न पाइने उल्लेख छ। साथै, परीक्षा सुरु भएको पहिलो एक घण्टासम्म कुनै पनि परीक्षार्थीलाई भवन बाहिर निस्कन दिइने छैन र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमतिविना सिट वा भवन छोड्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
परीक्षाको मर्यादा कायम राख्न मोबाइल फोन, स्मार्ट वाचलगायतका सम्पूर्ण इलेक्ट्रोनिक उपकरण, चिट तथा पुस्तक जस्ता निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण रूपमा रोक लगाइएको छ। अरूको नक्कल गर्ने, नक्कल गराउन सहयोग गर्ने, अर्कैको नाममा परीक्षा दिने, परीक्षामा अवरोध पुर्याउने वा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता कार्यलाई कडाइका साथ निषेध गरिएको छ।
डीनको कार्यालयले सूचना जारी गर्दै नियमहरूको उल्लंघन गरेमा परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म त्रिविका परीक्षामा सहभागी हुन रोक लगाउने र आवश्यकता अनुसार कानुनी कारबाहीसमेत गरिने चेतावनी दिएको छ।




