बारा, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समुहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदाको घोषणा गरेको छ।
असोज १० गते राति गाउँपालिकाको वडा नं. ३ स्थित कमलाबजार क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। उक्त अप्रिय र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देवानगञ्ज गाउँपालिकाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै गाउँपालिकाले असोज ११ र १२ गते दुई दिनका लागि शोक बिदा दिने निर्णय गरेको छ। बिदाको अवधिभर गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्थाहरू बन्द रहनेछन्।
गाउँपालिका अध्यक्ष वेचन प्रसाद मेहताद्वारा हस्ताक्षरित सूचनामा यस सार्वजनिक बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना समेत गरिएको छ।



