बारा, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति दुई पक्षबीच भएको झडपपछि गृह मन्त्रालयले जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएको छ।
परिस्थिति नियन्त्रण र प्रशासनिक समन्वयमा कमी आएको निष्कर्ष निकाल्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित प्रदेश र जिल्ला तहका उच्च सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
मन्त्रालयको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ भने उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरीको नयाँ सीडीओका रूपमा खटाइएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ फिर्ता बोलाएर उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाइएको छ।
सुरक्षा कमान्डमा व्यापक हेरफेर गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको ठाउँमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको कमान्ड सुम्पिएको छ। त्यसैगरी, घटना घटेको क्षेत्र कप्तानगञ्जस्थित सशस्त्र प्रहरी बल नेपालका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाउँदै सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट डीएसपी मदन नाथलाई खटाइएको छ।
देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको तीव्र झडप नियन्त्रणमा लिने क्रममा स्थिति हिंसात्मक बन्दा एक जनाको ज्यान गएको थियो। झडप र त्यसपछिको झडप नियन्त्रण प्रयासका क्रममा ९ जना सर्वसाधारणका साथै नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ५ जना गरी कुल २४ जना घाइते भएका छन्।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई एक साताभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
यसैबीच, सम्भावित थप अशान्ति रोक्न र शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका प्रभावित क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।



