बारा, १२ साउन । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै सामाजिक सञ्जालमा बाहिरिएको घटनामा संलग्न बाराका एक सहित थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा काठमाडौँ र वीरगञ्जबाट उनीहरू पक्राउ परेका हुन ।सीआईबीका अनुसार व्यवस्थापन संकाय अन्तर्गत ‘MGT 515: Organizational Behaviour’ विषयको परीक्षा हुनुअघि नै प्रश्नपत्र ह्वाट्सएपका विभिन्न समूहहरूमा भाइरल बनाइएको थियो।
प्रश्नपत्रको गोपनीयता भङ्ग गरी शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूर गरेको आरोपमा प्रहरीले काठमाडौँको ताहाचलबाट रौतहट राजदेवीका २५ वर्षीय अतुल कुमार मिश्र र वीरगञ्जबाट बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई नियन्त्रणमा लिएको हो।
यसअघि गत साउन ८ गते नै प्रहरीले प्रश्नपत्र लिक कार्यमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो।
सोही अनुसन्धानको कडी जोड्दै जाँदा उनीहरूलाई पनि नियन्त्रणमा लिनुपरेको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिएका छन्। पक्राउ परेकाहरूमाथि शिक्षा ऐन अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



