बारा, १२ साउन । निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सम्भावित मानवीय क्षति र दुर्घटना पन्छाउन आज मङ्गलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण बन्देज लगाइएको हो।
मुग्लिन बजार नजिकै नारायणगढतर्फ निरन्तर सुक्खा पहिरो खस्ने क्रम नरोकिएकाले बाटो जोखिमपूर्ण बनेको छ। रातिको समयमा पहिरो खसेमा देख्न र तत्काल पन्छाउन कठिन हुने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।



