बारा, १३ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै घटेको दुःखद् घटना र त्यसपछि सिर्जित शान्ति-सुरक्षाको संवेदनशील परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त बैठकमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका छन्।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने अराजक तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिए।
देशमा शान्ति-सुरक्षा कायम राख्न सरकारले कुनै पनि किसिमको सम्झौता नगर्ने स्पष्ट पार्दै उनले गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गरी स्थिति पूर्ण नियन्त्रणमा लिन निर्देशन दिएका छन्।



