जनकपुरधाम, १४ साउन। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सरकारी सवारी साधनको प्रयोगसम्बन्धी विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले हालको सुरक्षा संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सरकारी सवारी साधनलाई कार्यालयको अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न वा नगराउन निर्देशन दिएको हो।
मन्त्रालयले बिहीबार जारी गरेको पत्रमा प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय, केन्द्र तथा मातहतका निकाय एवं कार्यालयहरूलाई सरकारी सवारी साधनको सुरक्षित व्यवस्थापन गर्नसमेत आदेश दिएको छ।
पत्रमा कार्यालय प्रयोजनका लागि उपलब्ध सरकारी सवारी साधनहरू हालको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै अत्यावश्यक सरकारी कामबाहेक अन्य कुनै प्रयोजनमा प्रयोग नगर्न तथा सवारी साधनको सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिन भनिएको छ।
उक्त निर्देशन गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेशंकर प्रसाद पालको हस्ताक्षरसहित जारी गरिएको हो। मन्त्रालयले सबै सम्बन्धित निकायलाई निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ।



