सिमरा,०१ भदौ । सिमरा वितरण केन्द्रले विद्युत् बिक्री तथा राजस्व संकलन बढाउँदै लगे पनि ठूला उद्योगबाट उठ्न बाँकी महसुलका कारण केन्द्रको बक्यौता ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म केन्द्रको कुल बक्यौता उक्त रकम पुगेको हो।
केन्द्रका अनुसार बक्यौताको मुख्य हिस्सा बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगले प्रयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित छ। सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतका अनुसार हुलास स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र हामा आइरनको मात्रै करिब ७ अर्ब २१ करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ।
ठूला उद्योगतर्फ जगदम्बा स्टिलको मात्रै करिब १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको केन्द्रले जनाएको छ। उद्योगहरूले गत मंसिरदेखि डेडिकेटेड तथा ट्रंक लाइनको किस्ता तिर्न छाडेपछि बक्यौता थपिँदै गएको हो। यही कारण केन्द्रले कुल विद्युत् महसुल शतप्रतिशत असुल गर्न नसकेको जनाएको छ।
बक्यौता असुली चुनौतीका बीच सिमरा वितरण केन्द्रको वार्षिक राजस्व भने बढेको छ। गत आर्थिक वर्षमा केन्द्रले ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको केन्द्रले एक वर्षमा ७७ करोड १० लाख रुपैयाँ बढी राजस्व उठाएको हो।
बक्यौता असुलीका लागि विभिन्न ग्राहकको विद्युत् लाइन विच्छेद गर्दा ११ करोड ६० लाख रुपैयाँ असुल भएको केन्द्रले जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ८ सय ८० नयाँ ग्राहक थपिएका छन्। तर मागअनुसार मिटर उपलब्ध हुन नसक्दा नयाँ ग्राहक थप्ने काम प्रभावित भएको केन्द्र प्रमुख महतले बताए।
सिमरा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रणमा पनि केन्द्रले सुधार कायम राखेको छ। गत आर्थिक वर्षमा विद्युत् चुहावट २ दशमलव ०६ प्रतिशतमा सीमित गरिएको छ। विद्युत् बिक्रीको परिमाणसमेत अघिल्लो वर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३९ लाख युनिट विद्युत् बिक्री भएकोमा गत आर्थिक वर्षमा ६६ करोड ७४ लाख युनिट पुगेको केन्द्रले जनाएको छ।
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति प्रणाली बलियो बनाउन केन्द्रले ११ केभीका लाइनमा मर्मतसम्भारको काम गरेको छ। विशेष आर्थिक क्षेत्र (सेज) को विद्युत् आपूर्तिका लागि पिलुवा सबस्टेसनदेखि औराहासम्म ३३ केभी लाइनसमेत सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ।




