Tuesday, October 13, 2026

बाराका ४ र पर्साका २ पालिकालाई जोडेर सार्वजनिक यातायात सञ्चालनको तयारी

Advertisement
Advertisement

वीरगन्ज, २६ असोज। वीरगन्जसहित बारा र पर्साका ६ पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। ग्रामीण तथा सहायक सडकलाई मुख्य सडकसँग जोड्दै सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले अन्तरपालिका सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो।

प्रस्तावित योजनामा बाराका ४ पालिका र पर्साका २ पालिका समेटिने भएका छन्। बारा जिल्लाबाट जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र प्रसौनी गाउँपालिका तथा पर्साबाट वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई समेटेर यातायात सेवा सञ्चालन गर्ने तयारी गरिएको हो।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले यातायात सेवा सञ्चालनका लागि आवश्यक समन्वय तथा अध्ययन प्रतिवेदन तयार पार्न समिति गठन गरेको छ।

वीरगन्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव लगायत सम्बन्धित पालिकाका प्रतिनिधि सदस्य छन्।

समितिले सार्वजनिक यातायात सञ्चालनका लागि सम्भावित रुट, सवारी व्यवस्थापन, सञ्चालनको ढाँचा तथा आवश्यक स्रोतसाधनबारे अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ। साथै सवारी सञ्चालन खर्च, इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, नियमित सर्भिसिङ, मर्मतसम्भार र पालिकाबीच खर्च बाँडफाँटको व्यवस्थाबारे समेत अध्ययन गरिनेछ।

बैठकमा प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकालाई समन्वय गरी आगामी बैठकमा सहभागी गराउने विषयमा समेत छलफल भएको थियो।

प्रस्तावित अन्तरपालिका यातायात सेवाबाट मुख्य सडकबाट टाढा रहेका ग्रामीण बस्तीका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। यसले निजी सवारीमा निर्भर हुनुपर्ने तथा गन्तव्यसम्म पुग्न पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी लगायतको सहभागिता थियो। वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र सूचना अधिकृत किर्तिराज सुवेदीको समेत उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर