बारा, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका गम्भीर आरोपहरूबारे आन्तरिक छानबिन अगाडि बढाएको छ।
महिलाको मर्यादामा आँच पुर्याएको, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयमा सार्वजनिक भएका सामग्रीहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई छानबिन प्रक्रिया अघि बढाउन निर्देश गरेको छ।
छानबिनको निष्कर्ष नआउन्जेलसम्मका लागि सुनारलाई कुनै पनि सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको र राज्यका निकायहरूले गर्ने स्वतन्त्र छानबिनमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ।







