काठमाडौं, ३० असोज। नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धिका रूपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा आयोजना हुने भएको छ। आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१, २०२६ सम्म सम्मेलन सञ्चालन हुनेछ।
सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरूका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने तथा एसियाली क्रिकेटको सम्भावना विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेटको महत्त्वपूर्ण सम्मेलन नेपालमा आयोजना हुनुलाई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसले विश्व क्रिकेट समुदायमाझ नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनमा सहभागी हुने विदेशी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को तेस्रो संस्करणका एलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्। यसले नेपालमा सञ्चालन भइरहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट समुदायमाझ थप परिचित गराउने अवसर प्रदान गर्नेछ।
नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुनुले नेपाली क्रिकेटको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विश्व क्रिकेट समुदायसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सम्मेलनले नेपाललाई क्रिकेटको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न तथा अन्तर्राष्ट्रिय खेलकुद पर्यटनको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।






