बारा, २९ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आस्था, निष्ठा र सूर्य उपासनाको महान पर्व छठका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उपराष्ट्रपति यादवले हिमाल, पहाड र मधेसका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्ने यस्ता पर्वले राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई अझ सुदृढ बनाएको उल्लेख गरेका छन्।
मानव, प्रकृति र सृष्टिबीचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको उनको भनाइ छ। सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अर्घ्य अर्पण गरिने यस पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा औंल्याएका छन् ।
अस्ताउँदो सूर्यलाई सम्मानपूर्वक अर्घ्य र नमन गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने परम्पराले जीवनका हरेक अवस्था, संघर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उनले उल्लेख गरेका छन्।
‘नहाय–खाय’, ‘खरना’, सन्ध्या अर्घ्य र उषा अर्घ्यका धार्मिक अनुष्ठानहरूले आत्मअनुशासन, धैर्य, श्रद्धा र आध्यात्मिक शुद्धताको अभ्यास गराउने बताउँदै बर्तालुहरूले कठिन साधना र संयमका साथ सम्पन्न गर्ने यो पर्वले इच्छाशक्ति, परिवारप्रतिको समर्पण तथा सामूहिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्ने उनले जनाएका छन्।
छठ केवल पूजा–आराधनाको पर्व मात्र नभई सामाजिक समरसता र सहअस्तित्वको उत्सव पनि रहेको उनको भनाइ छ। बाँसका डाला, सुपली, माटाका भाँडा, स्थानीय फलफूल, अन्न तथा परम्परागत सामग्रीको प्रयोगले रैथाने ज्ञान, श्रमसंस्कृति र स्थानीय उत्पादनप्रतिको सम्मानलाई उजागर गर्ने उपराष्ट्रपति यादवले उल्लेख गरेका छन्।
साथै, प्रसादका रूपमा प्रयोग गरिने ठेकुवा, भुसुवा, पिरुकिया, खजुरियालगायतका परिकारहरूले रैथाने संस्कृतिको संरक्षणमा टेवा पुर्याउने र विभिन्न समुदाय, पेसा तथा वर्गका मानिसको साझा सहभागिताले यसलाई सामाजिक एकताको जीवन्त पर्वका रूपमा स्थापित गरेको उनले बताएका छन्।
नदी, पोखरी, तलाउ र जलाशयको सरसफाइ तथा संरक्षणसँग जोडिएको छठ पर्वले वातावरणीय चेतना र प्राकृतिक स्रोतहरूको संरक्षणप्रतिको जिम्मेवारीसमेत बोध गराउने उहाँको भनाइ छ। अन्त्यमा, छठ पर्वले सम्पूर्ण नेपालीमा सत्य, सेवा, सदाचार, अनुशासन र सहकार्यको भावना विकास गरोस् भन्दै सूर्यदेव र छठी माताको कृपाले प्रत्येक नेपालीको जीवनमा आशा, उत्साह, स्वास्थ्य, सुख र सफलताको प्रकाश फैलियोस् भनी उपराष्ट्रपति यादवले मंगलकामना व्यक्त गरेका छन् ।




