बारा, २८ कात्तिक । तराई–मधेश सहित देशभर श्रद्धा, निष्ठा र सूर्य उपासनाको महान पर्व छठअन्तर्गत आज दोस्रो दिन खरना विधि श्रद्धापूर्वक मनाइँदैछ।
चार दिवसीय छठ पर्वको पहिलो दिन शुक्रबार नहाय–खाय विधि सम्पन्न गरेका व्रतालुहरूले आज दिनभर उपवास (व्रत) बसिसकेपछि साँझपख खीर, रोटी लगायतका शुद्ध परिकारहरू प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन्।
खरना सम्पन्न भएलगत्तै व्रतालुहरूको कडा ३६ घण्टे निर्जल उपवासको आरम्भ हुनेछ। आज राति घरका पूजा कोठामा विधिपूर्वक नैवेद्य तयार गरी छठी माताको पूजाआराधना गरेसँगै पर्वको मुख्य आकर्षण मानिने तेस्रो दिनको तयारी सुरु हुनेछ।
भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नका लागि नदी किनार, पोखरी तथा जलाशयहरूमा आकर्षक छठघाटहरू सजाउने र सरसफाइ गर्ने काम अन्तिम चरणमा पुगेको छ।




