बारा, २७ कात्तिक । दीपावली पर्व समापनसँगै तराई-मधेश सहित देशभर श्रद्धा, निष्ठा र सुचिताको प्रतीक मानिने महापर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज शुक्रबार व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन्।
आस्था र भक्तिको यस पर्वको पहिलो दिन आज व्रतालुले स्नान गरी चोखो खाएर व्रतको आरम्भ गर्छन् भने भोलि शनिवार दोस्रो दिन खरना विधि गरिन्छ। त्यस्तै, तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
जातीय तथा सामुदायिक विभेद र छुवाछूतलाई पूर्ण रूपमा पन्छाउँदै समाजका सबै वर्ग एकै लहरमा उभिएर सूर्यदेवको आराधना गर्ने यस पर्वले आपसी सद्भाव र एकताको अनौठो सन्देश दिन्छ।
पर्वको तयारीमा जुटेका स्थानीय बासिन्दाहरूमा धार्मिक आस्थाले थप विनम्रता र सहयोगी भावना जागृत गराएको विश्वास गरिन्छ। सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को उपासनाले मानव जीवनमा मंगल र कल्याण हुने जनविश्वास रहिआएको छ।
छठ पर्वको आगमनसँगै अहिले बाराको सदरमुकाम कलैयासहित जिल्लाको विभिन्न क्षेत्रका गाउँबस्ती र बजारहरूमा निकै चहलपहल बढेको छ। वातावरण पूर्ण रूपमा छठमय बनेको छ। पर्वलाई व्यवस्थित र भव्य बनाउन स्थानीयवासी, विशेषगरी युवाहरू नदी किनार, पोखरी तथा जलाशयहरूमा सरसफाइ र आकर्षक छठघाट निर्माण तथा सजावटका काममा सक्रियताका साथ जुटेका छन्।
त्यसैगरी, व्रतालुहरूले बाँसका भाटा र चोया प्रयोग गरी आवश्यक पर्ने सामग्रीहरू तयारी गर्ने, घरका भित्ताहरू लिपपोत तथा रङरोगन गरेर सजाउने काम गरिरहेका छन्।
पर्वलाई उज्यालो र झिलिमिली बनाउन सडक, घर तथा सार्वजनिक स्थलहरूमा बत्तीहरू जडान गरिएका छन् भने आर्थिक रूपमा धनी वा गरिब जुनसुकै वर्गका नागरिकले पनि आआफ्नो गक्ष अनुसार श्रद्धापूर्वक यो पर्व भव्य रूपमा मनाउने तयारी गरेका छन्।




