कलैया, २० असोज। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका मध्ये ३० जना अस्पतालमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आन्दोलनको क्रममा घाइतेहरूको सङ्ख्या देशभर गरी दुई हजार ३ सय १६ रहेको थियो।
मन्त्रालयका अनुसार अस्पतालमा उपचारपश्चात् दुई हजार २ सय ३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । ३० जना घाइते मध्ये सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना, कीर्तिपुर अस्पतालमा एक जना र नेपाल प्रहरी अस्पतालमा एक जना उपचाररत छन् ।
यसैगरी काठमाडौं उपत्यका बाहिर बी एन्ड बी अस्पतालमा ३ जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने ९ जना रहेको छ ।