Thursday, July 2, 2026

महापर्व छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइदैं

कलैया, १० कात्तिक। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने महापर्व छठ पुजाको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ ।

बिहानै स्नान गरी छठको लागि ठेकुवा, केसार, पुरी, पडुकिया मिठाई बनाउन व्यस्त ब्रतालु बेलुकी अस्ताउँदो सूर्यलाई अर्घय दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्य उपासना र लोक आस्थाको यो महापर्व छठ शनिबारदेखि सुरु भएको हो ।

छठ पुजाको अवसरमा बाराको कलैया स्थित रामजानकी छठघाट, बरेवा छठघाट, जितपुर सिमरा स्थित डुमरवाना छठघाट, सिमरा छठघाट, सिम्रौनगढ छठघाट, निलकण्ठवा मटिअर्वा छठघाट, बरियारपुर छठघाट, ईटियाही छठघाट, फेटा छठघाट, मोतिसर, निजगढ छठघाट झकिझकाउ पारिएको छ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर