कलैया, २४ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त गरेकी हुन ।
यादवलाई आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।तर, प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज (सोमबार) बिहान मात्रै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् ।त्यसक्रममा कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।
बिदाइ गरेर बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए । प्रदेश प्रमुख जनकपुर बाट बर्दिवास पुगेर पानस कटेजमा मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव लाई नियुक्त भएको पत्र दिइन् । एकैछिनमा मुख्यमन्त्री पदको शपथसमेत सम्पन्न भएको थियो ।

















