कलैया, १७ पुस । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएको छ । कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो ।
घटना बुधबार राति करिब एक बजेको हो । भारतबाट सिटी सफारीमा ८-१० बोरा चिनी लिएर आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको थियो । गोली लागेर ढलेका साहको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमा प्रदर्शन गरिरहेका छन । साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन । घटनास्थलमा प्रदर्शन गरिरहेका छन ।
मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहले पहिले आक्रमण गरेपछि आत्मरक्षाका लागि ‘जवाफी फायरिङ’ गर्नुपरेको दाबी गरेका छन । उनले भने,”चोरी पैठारीको सामान रोक्न खोज्दा तस्कर समूहबाट गोली चल्यो, त्यसको प्रतिवाद गर्दा घटना भएको हो।”




