Friday, June 5, 2026

बारा ३ : युवा रोजगारी र विकासको प्रतिबद्धतासहित मतदातामाझ अरविन्द साह

spot_img

कलैया, २७ माघ । बारा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार इन्जिनियर अरविन्द साहले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । अभियानका क्रममा साहले आज कलैया उपमहानगरपालिका वडा नं. २५ अन्तर्गतका सिसहनिया र ढोरिया टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका साहले मतदाताहरूसँगको प्रत्यक्ष भेटघाटका क्रममा स्थानीय विकास, रोजगारी सिर्जना र आधारभूत सेवाको सुधारलाई आफ्नो चुनावी एजेण्डाको केन्द्रमा राखेको बताए । विशेषगरी बाराका युवाहरूले भोग्नुपरेको अवसरको अभाव र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आफू क्रियाशील रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

“हाम्रा युवाहरू सीप र अवसरको खोजीमा बाहिरिनुपर्ने अवस्था दुखद छ,” घरदैलोका क्रममा साहले भने, “युवाको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउन र स्थानीयस्तरमै उद्यमशीलता प्रवर्द्धन गर्न म कटिबद्ध छु ।”

उनले शिक्षा र स्वास्थ्य सेवामा व्यापक सुधारको आवश्यकता औंल्याउँदै जनताका समस्यालाई संसद्‌मा प्रभावकारी ढङ्गले उठाउने दाबीसमेत गरे । खल्ती डिजिटल वालेटका सह-संस्थापकसमेत रहेका साहले प्रविधिलाई विकाससँग जोड्ने र डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाहलाई सहज बनाउने आफ्नो योजना रहेको जानकारी दिए । सो क्रममा उनले वडा इकाईमार्फत पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनतासँगको सम्बन्धलाई निरन्तरता दिने रणनीतिबारे पनि चर्चा गरे ।

भेटघाटका क्रममा स्थानीय मतदाताहरूले सडक पूर्वाधार, खानेपानीको पहुँच, कृषिमा आधुनिकीकरण र युवाहरूका लागि स्वरोजगारका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । साहले आफ्ना योजनाहरू सुनाउँदै आगामी निर्वाचनमा ‘घण्टी’ छापमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर