बारा, १६ असार । बाराको जीतपुरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित बजार क्षेत्रमा सञ्चालित दुई छुट्टाछुट्टै पसलमा प्रहरीले छापा मार्दा बिक्रीका लागि स–साना पुरिया बनाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले बारामद गरेको हो। प्रहरी टोलीले जीतपुर बजारमा रहेको लकिचन साहको पसलबाट करिब ३६० ग्राम तौल भएका ५९ वटा गाँजाको पुरिया फेला पारेपछि पसलमा रहेकी ५० वर्षीया बच्ची साहलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी, जीतपुरकै सिधरीया टोलमा रहेको अर्को पसलमा खानतलासी गर्दा आठ पुरिया गाँजा फेला परेपछि ६८ वर्षीय सेख महमदलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ।
पछिल्लो समय बजार क्षेत्रमा अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको छ।



