बारा, १९ साउन । । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले मधेशमा कुनै पनि घटना हुना साथ लाठिचार्ज र अश्रुग्याँस प्रहार नगरी सिधै गोली हान्ने गरिएको भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले मधेशमा हुने सानातिना घटनामा पनि सुरक्षा निकायबाट किन सीधा गोली चलाइन्छ भन्दै राज्यसँग गम्भीर प्रश्न उठाएका हुन। बैठकमा आफ्नो धारणा राख्दै उनले मधेश वा थरुहट आन्दोलन तथा तराईका विभिन्न विरोध प्रदर्शनका क्रममा लाठीचार्ज वा अश्रुग्याँस (टियर ग्याँस) को प्रयोग नगरी सोझै गोली चलाउने प्रवृत्तिप्रति तीव्र आपत्ति जनाए।
सुरक्षाकर्मीलाई लाठी वा अश्रुग्याँस प्रयोग गर्ने तालीमको कमी भएको हो वा मधेशमा सुरक्षा निकाय पुग्नेबित्तिकै सोझै गोली हान्नुपर्छ भन्ने मानसिकता हावी भएको हो भन्दै उनले सरकारसमक्ष प्रश्न तेर्साए। त्यस्तै, सांसद सिंहले राज्यको बजेट र प्राथमिकताबारे पनि असन्तोष व्यक्त गरे। सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको नयाँ भर्नाका लागि हजारौँको संख्यामा बजेट र स्रोत व्यवस्थापन गर्न सक्ने तर मधेशमा अभाव रहेका शिक्षकहरूको नियुक्तिका लागि भने बजेट छैन भन्ने बहाना बनाउने गरेको उनको आरोप थियो।
सरकार मधेसमा हजारौँको संख्यामा प्रहरी, सशस्त्र र आर्मी परिचालित गर्छ,” उनले प्रश्न गरे, “तर, हजारौंको संख्यामा शिक्षक परिचालन गर्दैन । के यो सरकार आर्मी प्रहरी झैँ शिक्षक परिचालन गर्न सक्दैन ? जनतालाई शिक्षित बनाउन राज्य लाग्न सक्दैन ?”
मधेशलाई निरन्तर पछाडि पार्ने, गरिब बनाउने र असन्तोष जनाउँदा गोली ठोक्ने नीति अन्त्य हुनुपर्ने जोड दिँदै उनले तराई-मधेशमा सीधा गोली हान्ने नभई लाठी र अश्रुग्याँस प्रयोग गरेर परिस्थिति नियन्त्रणमा लिने उचित व्यवस्था मिलाउन सरकारसँग माग गरे।
सम्बोधनका क्रममा सांसद सिंहले देशको मुख्य लडाइँ समुदाय-समुदाय बीचको द्वन्द्व नभई गरिबी, पछौटोपन र असमानता विरुद्ध हुनुपर्ने बताए। सुनसरी घटनाको सन्दर्भमा सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गर्दै उनले समस्या समाधानका लागि सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए । साथै, ढिलै भए पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर सकारात्मक कदम चालेको उल्लेख गर्दै उनले संयमता र सद्भावका साथ अघि बढ्न सबै पक्षसँग आग्रह गरे।




