Wednesday, August 5, 2026

पुरुष

 

 

आँगनमा खेल्दाखेल्दै, कहिले ठूलो भयो,

थाहै भएन काँधमा, जिम्मेवारीको भारी पहाड रह्यो।

‘छोरा मान्छे रुनु हुन्न’ समाजले सिकायो,

त्यही कठोर वचनले, बचपन नै हरायो।।

 

उसको नी सपना होला उड्नु खुल्ला आकाशमा,

तर पखेटा बाँधिए, परिवारकै आशमा।

आफ्नो भोक भुलेर, परिवार पाल्छ,

आफ्नो रहर मारेर, सबैको सपना सजाउँछ।

 

चर्को घाम होस् या झरी, बाटो कहिल्यै छेक्दैन,

थाके तापनि, ‘थाकेँ’ मुखले भन्दैन।

जुत्ताको तलुवा घिस्रियो, पैताला पनि फुटे,

अनुहारमा मुस्कान राखी, पीडाहरू सबै लुके।

 

बाबु-आमाको भरोसा ऊ, श्रीमतीको सिन्दूर,

छोराछोरीको हिरो ऊ, माया उसको भरपूर।

तर रातको सिरानीले, उसको कथा जान्दछ,

आँसुका ती थोपा मात्रै, आफ्नै आत्मा जान्दछ।

 

भित्रभित्रै पग्लिन्छ ऊ, मैनबत्ती बनेर,

उज्यालो बाँडिरहन्छ, आफैँ अँध्यारो सहेर।

मनभित्र प्रश्न धेरै, उत्तर खोज्ने फुर्सद छैन,

जिन्दगीको दौडधुपमा, फर्केर हेर्दा आफ्नै लागि समय छैन।

 

तर समयले सिकायो उसलाई, पत्थरझैँ बन्नु पर्‍यो,

आँसु लुकाई मुस्कान ओढी, हाँस्नै मात्र सिक्नु पर्‍यो।

मनभित्रका पीडाहरू, चुपचाप गाड्नुपर्‍यो,

भावनाका प्रत्येक स्वरलाई, मौनतामै बाँध्नुपर्‍यो।

 

सबैको कुरा सुन्छ ऊ, उसको सुन्ने कोही छैन,

सङ्कट पर्दा ढाल बन्छ, उसको ढाल बन्ने कोही छैन।

खल्ती रित्तो हुँदा पनि, ‘चिन्ता नगर’ भन्दछ,

आफ्नो च्यातिएको लुगा लुकाई, परिवारलाई नयाँ किनिदिन्छ।

 

कहिले खाडीको मरुभूमि, कहिले आफ्नै गल्लीमा,

जिन्दगी बिताइरहेछ, अन्तहीन सङ्घर्षमा।

न कुनै ठूलो चाहना, न कुनै गुनासो छ,

परिवारको मुस्कानमै, लुकेको उसको खुसी छ।

 

ए पुरुष! तिम्रो मौन त्यागलाई, मेरो शत्–शत् प्रणाम,

तिम्रो नदेखिने बलिदानलाई, सधैँ रहोस् सम्मान।

तिमी छौ त घर उज्यालो, तिमी छौ त संसार,

पत्थरजस्तो छातीभित्र, मायाको श्रृङ्गार।

 

अब कहिलेकाहीँ रुन पनि, आफैँलाई अनुमति देऊ,

मनको भारी बिसाउन, केही आँसु झारिदेऊ।

तिमी पनि मान्छे हौ, ढुङ्गा वा फलाम होइनौ,

आफ्नो लागि पनि बाँच्न सिक, खुला मनले मुस्कुराऊ।

 

लेखक: राजन यादव

पचरौता-४, बारा

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर