बारा, २० साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूमा सेवा लिने सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
उपमहानगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा नगरभित्रका २५ वटै स्वास्थ्य संस्थाबाट सेवा लिने नागरिकको सङ्ख्या १ लाख ७५ हजार ४ सय ३५ पुगेको छ।
आधारभूतदेखि विशेषज्ञस्तरसम्मका स्वास्थ्य सेवामा नगरवासीको पहुँच विस्तार भएसँगै सेवाग्राहीको उपस्थिति बाक्लिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाअन्तर्गत रहेका नगर स्वास्थ्य अस्पताल तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमार्फत ओपीडी सेवा, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन, नसर्ने रोगको परीक्षण एवं उपचार, प्रयोगशाला सेवा र नि:शुल्क औषधि वितरणलगायतका स्वास्थ्य सेवाहरू नियमित रूपमा प्रवाह हुँदै आएका छन्।
स्थानीय तहबाट स्वास्थ्य सेवालाई सहज, गुणस्तरीय र सर्वसुलभ बनाउन आवश्यक जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति, पूर्वाधार विस्तार र सेवा प्रवाहमा निरन्तर सुधार भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
२४ वटा वडा रहेको उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्य लिएको जनाएको छ।




