बारा, १९ साउन। बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलुही चौकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजो १८ गते राति ८:४५ बजे प्रदेश २-०३-००२ प १११९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका–३२ निवासी ३२ वर्षीय राजेश महतो र साइकलको पछाडि सवार उनका १२ वर्षीय छोरा कनाई महतो घाइते भएका थिए।
दुवै जनालाई उपचारका लागि एल.एस. न्युरो अस्पताल, परवानीपुर (बारा) लगिएको थियो। उपचारकै क्रममा राति १०:५४ बजे कनाई महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका राजेश महतोको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




