बारा, २० साउन । बारा जिल्लामा खाना पकाउने ग्याँस नपाए वा कुनै समस्या भएमा उपभोक्ताले ९८५५०४५४०३ मा सिधै कल गर्न सक्ने भएका छन्।
बजारमा ग्याँसको कृत्रिम अभाव सिर्जना भइरहेको र कालोबजारी बढेको भन्दै उपभोक्ताहरूबाट प्राप्त गुनासोपछि जिल्ला प्रशासन कार्यालय बाराले यस्तो व्यवस्था मिलाउँदै ग्याँस आपूर्ति तथा पारदर्शी वितरणका लागि ९ बुँदे निर्देशन जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित सूचना अनुसार सम्पूर्ण ग्याँस उत्पादक, वितरक तथा डिलरहरूले तोकिएको परिमाण, गुणस्तर र मापदण्डअनुसार मात्र ग्याँस उपलब्ध गराउनुपर्नेछ। सरकारले तोकेको भन्दा बढी मूल्यमा बिक्री-वितरण गर्न नपाइने, ग्याँस भण्डारण तथा बिक्रीमा सुरक्षा मापदण्ड अपनाउनुपर्ने र खाली सिलिन्डर प्राप्त भएपछि मात्र नयाँ सिलिन्डर बिक्री गरी वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने अनिवार्य गरिएको छ।
साथै, सबै डिलरहरूले ग्याँस खरिद, बिक्री र मौज्दातको अभिलेख प्रशासनमा पठाउनुपर्नेछ भने एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्याँस खन्याएर बिक्री गर्ने जस्ता जोखिमपूर्ण तथा गैरकानुनी काम नगर्न चेतावनी दिइएको छ। निर्देशन उल्लङ्घन गर्ने, कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। ग्याँससम्बन्धी समस्या भएमा सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन नम्बर ९८५५०४५४०३ मा कल गर्न वा ह्वाट्सएप नम्बर ९८५५००७७७८ मा सन्देश पठाउन प्रशासनले अनुरोध गरेको छ।





