बारा, १० असोज । रोजगारी, अध्ययन तथा अन्य सिलसिलामा विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा सहभागी गराउने विषयमा निर्वाचन आयोगले सरोकारवालाहरूसँग गहन विमर्श र प्राविधिक तयारी अघि बढाएको छ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीहरूले विदेशमा रहेका नागरिकलाई मतदानको संवैधानिक अधिकार सुनिश्चित गर्न विभिन्न कूटनीतिक, कानुनी र प्राविधिक आयामबारे सरोकारवाला तथा विज्ञहरूसँग छलफल अगाडि बढाएका हुन।
परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न देशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग परामर्श गरेको आयोगले विदेशमा रहेका नेपालीको यकीन विवरण सङ्कलन र उनीहरूलाई मतदाता नामावलीमा समेट्ने विधिबारे मन्थन गरिरहेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विदेशस्थित नियोगहरूमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मत खसाल्ने वा ब्लकचेन तथा प्रविधिमा आधारित सुरक्षित ई-भोटिङ अपनाउने जस्ता विकल्पहरूमाथि अध्ययन भइरहेको छ।
अदालतको आदेश र नागरिकको मागबमोजिम मताधिकार कार्यान्वयन गर्न आवश्यक पर्ने नीतिगत एवं कानुनी सुधार, मतपत्र व्यवस्थापन र कूटनीतिक नियोगहरूको भूमिकाबारे आयोगले प्रारम्भिक खाका तयार पारिरहेको छ। यस व्यवस्थालाई व्यावहारिक र सुरक्षित ढङ्गले कार्यान्वयनमा ल्याउन सकिए विदेशमा रहेका लाखौँ नेपाली नागरिकले पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्न पाउने बाटो खुल्नेछ।






