Saturday, September 26, 2026

नेपाल छोड्दै गर्दा भावुक बने विनोद दास: ‘नेपाल र क्रिकेटका लागि मेरो मन सधैँ समर्पित रहनेछ’

Advertisement
Advertisement

बारा, १० असोज। बारा जिल्ला निवासी नेपाली क्रिकेटका पूर्वकप्तान तथा लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय विनोद दास अक्टोबरदेखि मलेसियन क्रिकेटसँग आबद्ध हुने भएका छन्। उनी मलेसियन क्रिकेटको नेतृत्वदायी भूमिकामा जाने तयारीमा छन्। यद्यपि, नेपालमा आयोजना हुने यू–१९ महिला टी–२० विश्वकपको तयारीमा भने उनले आफ्नो संलग्नता निरन्तरता दिनेछन्।

दासले नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक ठानेमा नेपाली क्रिकेटमा आफ्नो अनुभव र सुझाव उपलब्ध गराउने पनि जनाइएको छ।

दुई दशकभन्दा लामो समय नेपाली क्रिकेटमा बिताएका दासको यात्रा खेलाडीबाट कप्तान, प्रशिक्षक, मेन्टर हुँदै क्रिकेट प्रशासकसम्म फैलिएको छ।

दासले सन् २००० मा नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले यू–१७, यू–१९ हुँदै राष्ट्रिय टोलीसम्म प्रतिनिधित्व गरे। सन् २००० मा श्रीलंकामा भएको यू–१९ विश्वकप र सन् २००२ मा न्युजिल्यान्डमा भएको यू–१९ विश्वकपमा उनले नेपाली टोलीको कप्तानी गरेका थिए।

सन् २००१ मा उनको कप्तानीमा नेपालले एसीसी यू–१९ उपाधि जितेको थियो। उक्त उपाधि नेपाली क्रिकेटले जितेको पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधिका रूपमा लिइन्छ। सन् २००२ को यू–१९ विश्वकपमा पनि नेपालले पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै प्लेट प्रतियोगिताको उपविजेता बनेको थियो।

पछि दासले नेपाली राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हाले। सन् २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीको नेतृत्व गरेका उनले सन् २०१२ मा नेपालका लागि अन्तिम खेल खेलेका थिए भने सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिक रूपमा संन्यास लिएका थिए।

खेलाडी जीवनबाट संन्यास लिएपछि पनि दास क्रिकेटबाट टाढा भएनन्। उनले एसीसी लेभल–१ र लेभल–२ प्रशिक्षण पूरा गरेपछि क्रिकेट अस्ट्रेलियासँगको सहकार्यमा श्रीलंकामा सञ्चालन भएको एसीसी लेभल–३ कोचिङ कोर्ससमेत पूरा गरेका थिए।

त्यसपछि उनले नेपाली यू–१९ टोली, राष्ट्रिय टोलीको सपोर्ट स्टाफ, सहायक प्रशिक्षक तथा विभिन्न राष्ट्रिय टोलीका प्रशिक्षण जिम्मेवारी सम्हाले। यू–१९ विश्वकप तथा छनोट प्रतियोगिताका साथै महिला राष्ट्रिय टोलीसँग पनि उनले काम गरेका छन्।

यू–१९ प्रशिक्षकका रूपमा दासले देशभर प्रतिभा खोज्ने प्रक्रियालाई पनि व्यापक बनाएका थिए। प्रादेशिक सिफारिसमा मात्र निर्भर नरही देशभरबाट खेलाडी छनोट गर्ने क्रममा एकपटक करिब ८ सय युवा खेलाडीले ट्रायलमा सहभागिता जनाएका थिए भने ५६ खेलाडी छनोट भएका थिए।

सन् २०१५ मा नेपाली राष्ट्रिय टोलीको अभियानमा सहायक प्रशिक्षकका रूपमा काम गरेका दासले मलेसियामा भएको ‘ब्याट फर नेपाल’ विश्व–११ खेलका लागि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए। त्यसपछि उनले यू–१९ टोलीको प्रशिक्षण गर्दै सन् २०१९ को यू–१९ विश्वकप छनोटमा पनि भूमिका निर्वाह गरेका थिए।

सन् २०१९ मा महिला राष्ट्रिय टोलीको प्रशिक्षक बनेका दासले महिला टी–२० स्म्यास तथा आईसीसी महिला छनोट एसिया प्रतियोगितामा टोलीको नेतृत्व गरेका थिए। उनको प्रशिक्षणमा नेपाल २०१९ को महिला टी–२० स्म्यासको फाइनलसम्म पुगेको थियो।

प्रशासनिक भूमिकामा पनि दासको योगदान महत्वपूर्ण रह्यो। क्यानले सन् २०२० मा उनलाई क्रिकेट म्यानेजर नियुक्त गरेको थियो र उक्त जिम्मेवारी सन् २०२१ जनवरी १ देखि लागू भएको थियो। त्यसयता उनी नेपाली क्रिकेटको सञ्चालन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिकामा रहँदै आएका छन्।

पछिल्लो समय महिला क्रिकेटको पुनर्संरचना तथा राष्ट्रिय महिला क्रिकेट कार्यक्रमको विकास योजनामा समेत दासको संलग्नता रहँदै आएको छ।

मलेसियन क्रिकेटमा जान लागे पनि दासले नेपाली क्रिकेटसँगको सम्बन्ध पूर्ण रूपमा तोड्ने छैनन्। यू–१९ महिला टी–२० विश्वकपको तयारीमा उनले क्यानसँग सहकार्य जारी राख्नेछन् भने आवश्यक पर्दा नेपाली क्रिकेटलाई आफ्नो अनुभव र सुझाव दिने बताइएको छ।

मलेसियन क्रिकेटले खेलाडी, कप्तान, प्रशिक्षक, प्रतिभा विकासकर्ता र क्रिकेट प्रशासकका रूपमा लामो अनुभव बोकेका दासको अनुभवबाट लाभ लिने अपेक्षा गरिएको छ। मलेसियन क्रिकेटको प्रमुख सञ्चालन तथा रणनीतिक नेतृत्वसँग सम्बन्धित जिम्मेवारीले उनलाई नयाँ भूमिकामा अघि बढाउनेछ।

नेपालको पहिलो एसीसी यू–१९ उपाधि जित्दाका कप्तानदेखि नयाँ पुस्ताका खेलाडी विकास र नेपाली क्रिकेट प्रशासनसम्मको लामो यात्रापछि दास अब अर्को क्रिकेट राष्ट्रको नेतृत्वदायी भूमिकातर्फ अघि बढेका छन्। उनको यो नयाँ यात्राले नेपाल र मलेसियाबीच क्रिकेटसम्बन्धी अनुभव तथा ज्ञान आदानप्रदानलाई समेत थप बल पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पाए पछि समर्थकहरुले दुख प्रकट गरेपछि खेलकुद पत्रकार सुभाष हुमागाईंको पोष्ट सेयर गर्दै उनले “जुन दिन मैले नेपाल झण्डा अंकित त्यो जर्सी लगाएँ, त्यही दिनदेखि मैले यो सुन्दर खेल र मेरो प्यारो देश नेपालका लागि आफ्नो सम्पूर्ण मन, माया र समर्पण दिएको छु।

आज तपाईंका शब्दहरूले मलाई गर्व मात्र होइन, यो सुन्दर खेलप्रति र मेरो प्रिय खेलकुद पत्रकार परिवारप्रति अझ बढी कृतज्ञ बनाएको छ। मैले धेरै पहिले भनेझैँ, यही पत्रकार परिवार मेरो क्रिकेट यात्रालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्यान) मा खेलाडी, कप्तान र प्रशासकका रूपमा काम गरिरहन प्रेरणा दिने प्रमुख कारण हो।

मैले सधैँ चाहेको एउटै कुरा हो—आफ्नै मानिसहरूबाट सम्मान, मूल्यांकन र स्वीकार्यता पाउनु। र, त्यसका लागि म निरन्तर प्रयास गरिरहनेछु। धन्यवाद 🙏” लेखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर