सर्लाही, ०७ कार्तिक। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र ट्रक एकापसमा ठोक्किँदा बाराका १२ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाका ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको छ।
हर्दियाबाट जनकपुरतर्फ जाँदै गरेको ईभी गाडी लालबन्दी क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका थिए। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल लगिएको थियो। गम्भीर घाइते रञ्जितलाई थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।
दुर्घटनामा घाइते हुनेमा ईभी चालक महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, महागढीमाई–९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम, ४० वर्षीय राजदेव राम र विनोद राम तथा ४७ वर्षीय रुदल राम रहेका छन्।
त्यसैगरी सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढका ४० वर्षीय नवलकिशोर राम पनि घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र अन्यको सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न ट्रकका चालक मोरङको बूढीगंगा गाउँपालिका–४ निवासी करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ। दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गको यातायात भने अवरुद्ध नभएको जनाइएको छ।





