बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत स्वास्थ्य कार्यालय उद्घाटनका क्रममा स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। १५ शय्याको अस्पतालमा विद्युत् तथा आवश्यक पूर्वाधार निर्माणको काम पूर्ण रूपमा सम्पन्न नहुँदै उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
उद्घाटन कार्यक्रमलाई लिएर सुरु भएको विरोध प्रदर्शनले उग्र रूप लिँदा घटनास्थलमा तनाव सिर्जना भएको छ। प्रदर्शनका क्रममा १० वटा मोटरसाइकलमा आगजनी गरिएको छ भने गोली प्रहारसमेत भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
गोली प्रहारबाट एक जना गम्भीर घाइते भएको बताइएको छ। घाइतेको पहिचान, गोली प्रहार गर्ने व्यक्ति तथा घटनामा संलग्न पक्षबारे विस्तृत विवरण आउन बाँकी छ।
स्थानीयवासीले अस्पतालको आवश्यक पूर्वाधार र विद्युत् व्यवस्थापनको काम पूरा नगरी उद्घाटन गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। अस्पताल सञ्चालनका लागि आवश्यक संरचना तथा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको बुझिएको छ।
घटनापछि फेटा गाउँपालिका–३ को अवस्था तनावपूर्ण बनेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेकाले घाइतेको अवस्था, आगजनीबाट भएको क्षति तथा घटनाको कारणबारे आधिकारिक पुष्टि हुन सकेको छैन।





