बारा, २३ कात्तिक। बाराको कलैयामा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा सुजित मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
खेलकुदले जोड्छ, युवाले बदलछ कलैया-१४ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको आज कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले एक समारोहबीच उद्घाटन गर्नुभएको छ।
समाजका एक होनहार र ऊर्जावान् व्यक्तित्व स्वर्गीय सुजित पाण्डेले समाजका विकृति र बेथितिविरुद्ध दृढतापूर्वक आवाज उठाइ युवाहरूलाई नेतृत्व प्रदान गरेको योगदानको स्मरण गर्दै उनको सम्मानमा प्रतियोगिता आयोजना गरिएको आयोजक यूथ अफ कलैया-१४ खेलकुद व्यवस्थापन समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिएका छन्। प्रतियोगिताको उद्घाटन खेलमा कलैया उपमहानगरपालिका वडा नम्बर १४ र वडा नम्बर ७ का टिमहरूबीच प्रतिस्पर्धा भइरहेको छ।
कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौरा टोलस्थित खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल ८ वटा टोलीहरूको सहभागिता रहेको छ। सहभागी टोलीहरूलाई समूह क र समूह ख गरी ४–४ वटा टिममा विभाजन गरिएको छ भने समूह चरण अन्तर्गत दैनिक दुईवटा खेलहरू खेलाइने ठाकुरले जानकारी दिए।
त्यसैगरी, सेमिफाइनल र फाइनल चरणका खेलहरू भने फरक–फरक दिन अर्थात् एक दिनमा एउटा मात्र खेलको रूपमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा विजेता बन्ने टिमले नगद १५ हजार रुपैयाँसहित विजेता ट्रफी र सबै खेलाडीहरूलाई मेडल प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित उपविजेता ट्रफी र मेडल प्राप्त गर्नेछन्।
यसैगरी, म्यान अफ द टुनामेन्ट ले नगद २५ सय रुपैयाँ, आकर्षक ट्रफी, विशेष मेडल र उपहार प्राप्त गर्नेछन् भने प्रत्येक खेलका म्यान अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत विशेष ट्रफी प्रदान गरिनेछ।
युवाहरूमा खेलप्रतिको आकर्षण बढाउन र स्थानीय प्रतिभा उजागर गर्न आयोजित यस प्रतियोगिताका खेलहरू अवलोकन गर्न सम्पूर्ण खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई आयोजक समितिले अनुरोध गरेको छ।




