बारा, २९ कात्तिक । नेपालको धार्मिक नगरी जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक यात्रुवाहक रेल सेवा सञ्चालन हुने भएको छ।
भारतीय रेल्वेले रामायणकालीन ऐतिहासिक तथा धार्मिक महत्व बोकेका यी दुई प्रमुख स्थलहरूलाई प्रत्यक्ष जोड्न साप्ताहिक रेल सेवा सञ्चालनका लागि औपचारिक स्वीकृति प्रदान गरेको हो।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई जोड्ने यस रेल सेवाबारे भारतको रेल मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार सातामा एकपटक सञ्चालन हुने यो रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने सोमबार भारतको अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्ने समयतालिका तय गरिएको छ।
उक्त रेल भारतको बिहार र उत्तर प्रदेश राज्यका विभिन्न प्रमुख शहरहरू हुँदै सञ्चालन हुनेछ। यात्राका क्रममा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर स्टेशनहरूमा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने (स्टपेज) व्यवस्था मिलाइएको भारतीय रेल मन्त्रालयले जनाएको छ।
प्रत्यक्ष रेल सेवा सुरु भएसँगै नेपाल र भारतका धार्मिक पर्यटक तथा सर्वसाधारण यात्रुहरूको आवतजावत निकै सहज हुने विश्वास लिइएको छ।
यस सेवाले दुवै देशबीचको यात्रु आवागमन विस्तार गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन, सीमा क्षेत्रको आर्थिक गतिविधि र सदियौँदेखिको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने भारतीय रेल मन्त्रालयले उल्लेख गरेको छ।




