बारा, २९ कात्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूम हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्वले मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने उल्लेख गरेका छन्।
छठ पर्वले मानव जीवनलाई एउटा गहिरो दर्शन सिकाउने बताउँदै उहाँले उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिने बताउनुभएको छ।
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको स्मरण गर्दै प्रधानमन्त्री शाहले वर्तमान सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।
छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने उनको कामना छ।
सन्देशको अन्त्यमा मैथिली भाषामा समेत शुभकामना व्यक्त गर्दै उनले लेखेका छन्।, “छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठपरमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।”




