Wednesday, July 22, 2026

भारतद्वारा नेपाललाई ‘सगरमाथा संवाद’ का लागि १५ वटा विद्युतीय सवारी साधन उपहार

काठमाडौं, २८ बैशाख । मित्रता र सद्भावनाको प्रतीकका रूपमा भारत सरकारले नेपाल सरकारलाई ‘सगरमाथा संवाद’ आयोजना गर्न १५ वटा विद्युतीय सवारी साधन उपहार दिएको छ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती सवारी साधनहरू हस्तान्तरण गरेका हुन्।

‘सगरमाथा संवाद’ को पहिलो संस्करण जेठ २ गतेदेखी ४ गतेसम्म (१६-१८ मे २०२५) काठमाडौंमा आयोजना हुने तय भएको छ। उक्त संवादको प्रभावकारी आयोजना तथा पाहुना र अधिकारीहरूको सहज आवागमनका लागि भारतले यी विद्युतीय सवारी साधनहरू प्रदान गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले संवादको समयमा सवारी साधनले पाहुना र अधिकारीहरूको आवागमनलाई सहज बनाउनेमा विश्वास व्यक्त गरे। साथै, उनले २०२२ मा नेपालमा सम्पन्न संघीय र प्रादेशिक निर्वाचनका क्रममा भारतले कानून प्रवर्तन निकाय र निर्वाचन आयोगलाई उपलब्ध गराएको रसद सहयोगको स्मरण गराउँदै संवादको सफलताका लागि शुभकामना दिए।

नेपाल सरकारको तर्फबाट सवारी साधनहरू ग्रहण गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको पुरानो र प्रमुख विकास साझेदारका रूपमा भारतको भूमिकालाई उच्च मूल्यांकन गरिन्।

भारत र नेपालबीचको बहुआयामिक र बहु-क्षेत्रीय विकास साझेदारीलाई सुदृढ बनाउने प्रयासमा यो सहयोगले थप बल पुर्‍याएको छ। जनता-जनता सम्बन्ध सुदृढ पार्ने भारत सरकारको निरन्तर सहयोगप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ।

यस किसिमको सहकार्यले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर